तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन् ।
कृतिका विद्यालय जान तयार हुनअघि नै रुचिका पनि तयार भइसक्छिन् । उनी झोलामा कापी, पेन्सिलसँगै घरबाट थाली नै लिएर विद्यालय जान्छिन् । तर, विद्यालयमा उनको नाम भने दर्ता छैन ।
उमेर नपुगेका कारण रुचिकाको नाम दर्ता नगरेको विद्यालयले जनाएको छ । ‘दिवाखाजा’ खाने आशाले रुचिका हरेक बिहान तयार हुने र कहिल्यै विद्यालय जान नछाड्ने बानी परेको छ । बिहान १० बजे विद्यालय जाने रुचिकाको विद्यालयमा हेरचाह उनकी दिदी कृतिमा गर्छिन् । रुचिका दिदी कृतिकासँगै १ कक्षामा बस्दै आएकी छन् ।
त्यस्तै, आरश दमाई तीन वर्ष पुग्न थाले । उनी पनि काका रवि दमाईसँगै विद्यालय नबिराएर जान्छन्् । आरशको पनि विद्यालयमा नाम दर्ता छैन । ‘उमेर नपुगेको’ भन्दै भर्ना नगरेको आरशका बुबा बिर्ख दमाई बताउँछन् । उनी पनि घरबाटै झोलामा प्लेट लिएर विद्यालयमा हाजिर हुने गरेका छन्् ।
‘पहिला ६–७ वर्ष पुगेपछि मात्रै विद्यालयमा लगाउने गरेका थियौं, अहिले दिवाखाजा लागू भएपछि स–साना बालबालिका पनि विद्यालय जान रुचाउने गरेको’ पद्मा धामी बताउँछिन् ।
‘म घरमा बस्नुको कारण यही नातिको हेरालो लाग्नका लागि हो, नातिनी बिहान विद्यालय लाग्ने समयअघि नै रोइकराई गर्छे,’ पद्मा भन्छिन्, ‘आमाको दुध खान छोडेर दिवाखाजा नै मन पराउँछन््, मिठो मानेका कारण विद्यालयमा नजाउभन्दा पनि मान्दैनन् । यसले गर्दा हामीलाई राम्रो भएको छ । घरको कामधन्दामा सहज भएको छ ।’
विद्यालयमा ‘म्याउम्याउ बिरालो, यतातिर आऊ, कराईको दुध नखाउ म भोकी हुन्छु’ लय हालेर बालगीत गाउन पनि जानेका छन्, स–साना बालबालिकाले । तलकोट गाउँपालिकाको मष्टा आधारभूत विद्यालयमा मात्रै झन्डै १० देखि १५ बालबालिका दिवाखाजाका कारण नियमित उपस्थित हुने गरेको प्राध्यानाध्यापक सत्यकुमारी उपाध्यायले बताइन् ।
कतिपय बालबालिका आफ्नै दिदी, काका, दाइ तथा फुपुसँगै उनीहरूको कक्षामा बस्छन्् भने कतिपयलाई शिशु कक्षामा राख्ने गरिएको छ ।
सो विद्यालयमा मात्रै नभई मष्टा गाउँपालिकाको सबैभन्दा विकटमा रहेको मालिका आधारभूत विद्यालयमा पनि भर्ना नभएका ससाना दुधे बालबालिका उपस्थित हुने गरेको प्रधानाध्यापक दन्त बोहरा बताउँछन् । सो विद्यालयमा २ सय ४८ विद्यार्थी छन्् । तर, दिवाखाजा ३ सयदेखि ३ सय ५० लाई वितरण गर्नुपरेको प्रधानाध्यापक बोहरा बताउँछन् ।
‘दैनिक कम्तीमा ५० देखि बढीमा सय जना ससाना बालबालिका उपस्थित हुने गरेका छन्् । दिवाखाजा खाने आशाले मात्रै उनीहरू आउँछन््,’ उनी भन्छन्, ‘कोही दाइ, दिदी, फुपु, काकासँगै आउँछन् र उनीहरू सँगै बस्छन् । कतिपयलाई अभिभावकले नै विद्यालयमा छोडेर जान्छन्् । उनीहरूलाई विद्यालय नपठाउन आग्रह गरे पनि अभिभावक मान्दैनन् ।’
विद्यालयमा घेरबार पनि छैन । आएका बालबालिकालाई घर पठाउन पनि मिलेन । आइसकेपपछि दिवाखाजा दिनैप¥यो । नदिए पनि विद्यालयलाई गाह्रो हुने गरेको छ ।
दुधे बालबालिकाकै कारण माथिल्लो कक्षामा अध्ययन गर्ने उनीहरूका दाइदिदीलाई ‘डिस्टर्ब’ हुने गरेको देखिएको छ । बालबालिका रुने, कराउने र जोसँग आएका हुन्, उनीहरूसँगै बस्न रुचाउने भएका कारण पनि समस्या हुने गरेको शिक्षक बताउँछन् ।
मष्टा गाउँपालिका बोहराले ‘विश्व खाद्य कार्यक्रम’ लागू भएपछि सानै उमेरमा विद्यालय जाने दर बढेको बताउँछन् ।
यता, तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारी विद्यालयको ‘दिवाखाजा कार्यक्रम’ले विद्यार्थीको नियमितता, सानै उमेरमा विद्यालय जाने बानी विकास भएको बताउँछिन् । पछिल्लो समय ‘दिवाखाजा कार्यक्रम’अन्तर्गत अन्य कार्यक्रम सरसफाइ, तरकारीसमेत प्याकेज बनाएर विद्यार्थीको आनीबानीमा समेत परिवर्तन आएको अनुभव उनले सुनाइन् ।
त्यस्तै, आईडीएस नेपालले स्वास्थ्य र स्वच्छता अभ्यास सुधारिएको ज्ञान दिन, पोषणसम्बन्धी ज्ञान अभिवृद्धि, सफा पानी, सरसफाइ सेवा र पहुँचमा वृद्धि तथा स्वास्थ्य समस्या रोकथाममा पहुँच बढाउने उद्देश्यले बझाङका १२ वटै पालिकाकाका ४ सय ५५ विद्यालयमा ‘स्वास्थ्य तथा पोषण कार्यक्रम’ कार्यान्वयनमा रहेको जनाएको छ ।
आईडीएस नेपाल बझाङ संयोजक सुरेन्द्र जैरुका अनुसार ‘विश्व खाद्य कार्यक्रम’को सहयोगमा एकीकृत विकास समाज नेपालले कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विद्यालय अनुगमनका लागि बझाङ पुगेका आईडीएस नेपालका कार्यकारी निर्देशक प्रकाश कोइराला नेतृत्वको टोलीले शिक्षा गुणस्तर सुधारका लागि राम्रो काम गरेको पाएको छ। राजधानीमा खबर छ।


















