कचनकवल। झापाको कचनकवल–७ मा रहेको दीपज्योति सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। दिपज्योति सामुदायिक वनमा आज आयोजित उक्त साधारण सभाको अध्यक्षता समूहका अध्यक्ष हरि प्रसाद लिम्बुले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला महासंघका उपाध्यक्ष चन्द्रबहादुर तामाङ हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रदेश सामुदायिक वन महासंघ न्यायिक समिति संयोजक घनश्याम बराल र सब डिभिजन रंगेडाडाका रेन्जर गौरी शङ्कर गनगाई हुनुहुन्थ्यो। अन्य अतिथिहरू पनि मञ्चमा आसीन हुनुहुन्थ्यो।
कार्यक्रमको सुरुवातमा समिति सदस्य रुद्रप्रसाद उप्रेतीले स्वागत मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथि चन्द्रबहादुर तामाङले आफ्नो भनाइ राख्दै सामुदायिक वनका उपलब्धिहरू र समूहले खेलिरहेको भूमिकाबारे चर्चा गर्नुभयो। सब डिभिजन रेन्जर गौरी शंकर गनगाईले वनको नियम कानुन र समितिले गर्न पाउने अधिकारहरूका बारेमा जानकारी गराउनु भयो। त्यस्तै, घनश्याम बरालले महासंघले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको चर्चा गर्नुभयो।
कार्यक्रममा लेखा प्रतिवेदन देवमाया थाम्सुहाङले प्रस्तुत गर्नुभएको थियो। सभाको अन्त्यमा अध्यक्ष हरि प्रसाद लिम्बुले निर्वाचित १५ सदस्यीय कार्य समितिको अनुमोदन गर्दै सभाको समापन गर्नुभयो।