म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए। ‘मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा-जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,’ उनले भने, ‘निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।’
५ उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए। बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ । रासस