काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामै ९ करोड ९ लाख रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको थियो।
दशैं–तिहार जस्ता चाडपर्वमा रमाइलो तथा जुवाको रूपमा प्रयोग हुने तासको माग हरेक वर्ष बढ्ने भएकाले चीन, भारत, अमेरिका, बेलायतलगायत मुलुकबाट ठूलो परिमाणमा तास आयात हुँदै आएको छ।
विभागका तथ्यांकअनुसार २०७४/७५ मा १४ करोड ५७ लाख बराबरको १ करोड २१ लाख प्याकेट तास आयात भएको थियो भने २०७५/७६ मा हालसम्मकै बढी २५ करोड ६ लाख मूल्यको १ करोड ५७ लाख प्याकेट तास भित्रिएको थियो। यस्तै, २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट, २०७७/७८ मा १ करोड ३४ लाख प्याकेट, २०७८/७९ मा २१ करोड ५४ लाख मूल्यको १ करोड ९ लाख ६० हजार प्याकेट, २०७९/८० मा २१ करोड २७ लाख बराबरको १ करोड ७७ हजार प्याकेट र २०८०/८१ मा ३२ करोड १८ लाख बराबरको तास आयात भएको विभागले जनाएको छ। विभागका अनुसार चाडपर्वसँगै तासको माग अझ बढ्ने भएकाले यसवर्ष पनि आयातको परिमाण उच्च रहने अनुमान गरिएको छ।