विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषकलाई दुधको भुक्तानी दिलाउन पहल थालेका छन् । सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को विराटनगर दुग्ध वितरण आयोजनाले कोशीका आठ जिल्लामा रहेका किसानलाई दुध बिक्री गरेबापत ३२ करोड रुपैयाँ लामो समयदेखि नदिएको गुनासो गरेपछि मुख्यमन्त्री कार्कीले बक्यौता असुलीका लागि चासो दिएका हुन् ।
शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनका कर्मचारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर किसानको बक्यौता छिटो भुक्तानी दिन उनले निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्कीले तीनै तहको संरचनासँग समन्वय गरेर बक्यौता रहेको दुधको रकम कृषकलाई भुक्तानी दिन लागिपरेको बताए । ‘म संघीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्छु । आयोजनाले पनि आफ्नो तर्फबाट चासो देओस्,’ उनले भने ।
आयोजनाले झन्डै एक वर्षदेखि कोशीको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथरका किसानबाट दुध किनेको पैसा दिएको छैन । त्यस्तै, मधेशको सप्तरी जिल्लाका किसानलाई समेत गरेर कुल ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । आयोजना प्रमुख परमेश्वर चौधरीले मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा खुला रूपमा बिक्री भइरहेको दुधभन्दा आयोजनाले बेच्ने दुध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले दुध बिक्री नभई किसानलाई भुक्तानी दिन नसकिएको बताए । किसानबाट उठाएको दुधलाई पाउडर बनाएर राखेकाले र बिक्री नभई थन्किएकाले रकम अभावमा किसानको बक्यौता बसिरहेको उनले जानकारी गराएका थिए ।