काठमाडौं । दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ ।
हिजो मध्यरात सो घटना भएको हो । इटहरीबाट आएका दुई दर्जन जति महिलाहरुलाई लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको थियो । राति ११ बजेतिर ८-१० जनाको एउटा समूह सो पार्टी प्यालेसमा घुसपैठ गरेर सुतिरहेका महिलाहरुलाई उठाएको थियो । दुर्व्यवहारपछि महिलाहरु आफ्ना पोका पन्तरासहित मध्यरातमा बाहिर निस्किएका थिए ।
दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंका अनुसार महिलाहरु लखेटिएको सूचना आएपछि तत्कालै गाडी पठाएर उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई पशुपति धर्मशालामा लगेर राखिएको उनले जानकारी दिए ।
घटनामा संलग्नहरुलाई कारबाही गर्न उनको माग छ । प्रहरी प्रवक्ता पाठकले घटनामा ७-८ जना संलग्न रहेको जानकारी आए पनि उनीहरुको पहिचान नभएको बताए ।
‘युवा संघका कार्यकर्ता भएको सुनिएको छ, तर पहिचान भएको छैन । अहिलेसम्म कसैलाई पक्राउ पनि गरिएको छैन,’ पाठकले भने ।
युवा संघ अध्यक्ष क्षितिज थेवेले घटनामा संगठनको संलग्नता नरहेको दाबी गरेका छन् ।