देशभरका विभिन्न जिल्लामा शुक्रबार साँझ र गएराति हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हावाहुरी र वर्षाका कारण केही ठाउँमा मानवीय क्षति हुनुका साथै भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार नवलपरासी, कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरीबाट बढी क्षति पुगेको छ।
उनका अनुसार नवलपरासी पश्चिममा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने बारा, कैलाली, कञ्चनपुर र नवलपरासीमा गरी सात जना घाइते भएका छन्। सर्लाही र चितवन लगायतका जिल्लामा पनि हावाहुरीले घर, रुख र विजुलीका पोलहरूमा क्षति पु¥याएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा र हावाहुरी ल्याउने प्रणाली अझै सक्रिय रहेको छ र सो प्रणाली शनिबार पूर्वतर्फ सर्ने क्रममा छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा गएराति बदलीसहित विभिन्न स्थानमा वर्षा भएको थियो।
पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८ मिमि, धादिङमा ३७, म्याग्दीमा ३०.२, गोरखामा ३१.६, काभ्रेपलाञ्चोकमा २९ र स्याङ्जामा ३० मिमि वर्षा मापन भएको छ। पश्चिम तथा मध्य क्षेत्रमा शनिबार पनि बदली र छिटपुट वर्षाको सम्भावना रहेको जनाइएको छ।
सावधानी अपनाउन तथा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।



















