काठमाडौं।
देशभरीबाट थप नौ सय २१ नयाँ प्रहरी कार्यालय स्थापनाका लागि माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तर, जनशक्ति अभाव देखाउँदै प्रहरीले माग भएका स्थानमा नयाँ कार्यालय राख्न सकेको छैन । कतिपय स्थानमा अस्थायी प्रहरी कार्यालय राखिएका छन् ।
प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार मागअनुसार कार्यालय स्थापनाका लागि थप १६ हजार एक सय ८९ प्रहरी जनशक्ति आवश्यक हुन्छ । सोही अनुसार जनशक्ति थपका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा यसअघि नै लेखिपठाइसकेको छ । नयाँ प्रहरी कार्यालय स्थापनाका लागि जिल्ला सुरक्षा समितिबाट भएका सिफारिसहरू गृह तथा प्रहरी प्रधान कार्यालयमा पुग्ने भएपनि जनशक्ति अभावका कारण नयाँ कार्यालय स्थापना रोकिदै आएका छन् ।
हाल देशभरी स्थायी प्रकृतिका प्रहरी कार्यालय दुई हजार ६ सय ६० छन् । ६ सय ९३ अस्थायी प्रहरी पोष्ट तथा चार सय १६ अस्थायी ट्राफिक पोष्ट सञ्चालित छन् ।
त्यस्तै, चार सय ४३ प्रहरी कार्यालयको स्तरबृद्धिको माग भएको छ । जसमा १० हजार आठ सय १२ प्रहरी आवश्यक छ ।
नयाँ कार्यालय स्थापना र स्तरबृद्धिका लागि कुल २७ हजार एक जनशक्ति थप्नुपर्ने आवश्यकता रहेको एसएसपी अधिकारीले बताए ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई सय नागरिक बराबर एक प्रहरी हुनुपर्ने भएपनि नेपालमा एक प्रहरीले तीन सय ७५ नागरिकको सुरक्षा हेर्नुपर्ने अवस्था छ । हाल नेपाल प्रहरीको कुल जनशक्ति ७९ हजार पाँच सय ४२ छ ।