काठमाडौं, साउन ७ – देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो तथा जलमग्नताबाट सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
हाल देशभर मनसुनी वायु सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ। यही प्रभावले गर्दा देशका अधिकांश भू-भागमा बदलीसहित वर्षाको सम्भावना देखिएको हो।