सुरुङ्गा। झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ। यहाँ आउने पर्यटकको सहजताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो। यो ट्रस ब्रिज ३३ लाख ७५ हजार १७१ को लागतमा निर्माण भएको हो।
सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार ४९०, शिवसताक्षी नगरपालिकाको ४ लाख ३८ हजार ८६३ र जनसहभागिता ६७ हजार ५१७ रहेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए।
२४ मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए। ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्षित सडक लगायत पूर्वाधार निर्माण भइरहेका छन्। यहाँ नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले पुल, सडक लगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन्।