कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भारतको दिल्लीमा उपचारपछि घर फर्किएका छन् ।
दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा १६ दिन उपचार भएपछि हमाल धनगढीस्थित घरमा फर्किएका हुन् । ‘अहिले म घरमै आराम गरिरहेको छु,’ मेयर हमालले भने, ‘फिजिसियन डा. विकास रिजाल र अहेब दिनेश ठकुल्लाले बिहान र बेलुका आएर स्वास्थ्य जाँच गरिरहनुभएको छ ।’
मेयर हमालका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ‘बिहान भेट्न आउने साथीहरूको सहारा लिएर हिँड्छु,’ उनले भने, ‘दिउँसो औषध खाएर आराम गर्छु । ३ बजेपछि फिजियो थेरापी गर्ने गरेको छु ।’
मेयर हमाललाई स्वास्थ्य समस्या देखिएपछि २१ मंसिरमा धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कघात भएको चिकित्सकले बताएपछि हमाललाई थप उपचारका लागि २२ मंसिरमा दिल्ली लगिएको थियो । त्यहाँ हमालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।