धनगढी: कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती सुडा क्षेत्रमा सञ्चालन हुँदै आएको तस्करीको सञ्जाल पर्दाफास भएको छ। गौरीफन्टा कोतवाली प्रहरीले सीमा क्षेत्र हुँदै नेपालबाट भारत लैजान लागेको करोडौं रुपैयाँ बराबरको सेक्स टोय बरामद गरेको हो।
भारतीय प्रहरी र भन्सार विभागको संयुक्त अपरेशनमा करिब ४० हजार थान चाइनीज सेक्स टोय बरामद गरिएको जनाइएको छ। बरामद गरिएको सामग्रीको एक थानको मूल्य नेपाली बजारमा झन्डै ५,५०० रुपैयाँ र भारतीय बजारमा करिब ३,५०० रुपैयाँ पर्छ। कुल मूल्य करोडौं रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।
स्रोतका अनुसार तस्करीको मुख्य केन्द्र नेपालतर्फ रहेको अवैध सुडा मन्डी थियो। सो सामान कैलालीको भजनीबाट सुखड हुँदै हसुलियाबाट जुगेडा हुँदै पारी पुगेको हो।
नेपाली तस्करले पारीपट्टीका एक सरदार तस्करलाई सो सामान पठाएको बताइएको छ। तर सीमा सुरक्षामा खटिने सशस्त्रको भने तस्करी नियन्त्रणमा कमजोरी देखिएको छ।
स्रोतका हाल अनुसार चीनबाट नेपाल हुँदै तस्करीको सामान स्टक गरी भारत लैजाने काम हुँदै आएको छ। यसमा सशस्त्रको भूमिका संकास्पद देखिन्छ।
प्रहरी स्रोतका अनुसार उत्तरप्रदेश र सुदूरपश्चिम प्रदेश जोडिएको सीमानाका सुडा, बनगवाँ, कजरिया, चन्दन चौकी जस्ता सीमावर्ती मण्डीहरूबाट मादक पदार्थ, हतियारदेखि यौन सामग्रीसम्मको तस्करी नियमितरूपमा भइरहेको पाइएको छ।
तस्करीमा प्रभावशाली व्यक्ति संलग्न रहेको जनाइएको छ। सो समान युपी ३१ बिटी ५१६३ नम्बरको गाडीमा तस्करी हुँदै थियो भने चालकसहितका मान्छे भागेको बताइएको छ।