धरानमा फूलखेतीः सौखका लागि रोपेको, बन्यो आम्दानीको स्रोत

धरान (सुनसरी)- कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।

धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउँछन् । उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका छन् ।

EPIC EPIC EPIC

“पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै रु एक लाख आम्दानी भइरहेको छ”, उनले भने ।

फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ का शिवमाया राई पनि हुन् । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोप्नुभएकी उनले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गरिन् । अहिले उनले आफैँ नर्सरी सञ्चालन गरिरहेकी छन् । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।

“सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे, उनीहरुले निःशुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो”, उनले भनिन्, “पछि सित्तैमा दिन मन लागेन, प्रतिबिरुवा रु ५० लिन थाले, पछि यो व्यवसाय बन्यो ।”

उनले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गरिन् । अहिले यसैले व्यवसायी बनाएकामा उनी निकै खुसी छिन् । “सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो, अहिले यसैबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको छ”, उनले भनिन् । अहिले उनको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।

धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।

धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरिरहेका छन्। उनले सञ्चालन गरेको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।

धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक रु तीन करोडभन्दा बढीको फूल र बिरुवा हुने जानकारहरू बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *