पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलनकुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको खुलेको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर थापाका अनुसार गत पुस २५ गते नै उक्त आदेश भएको हो ।