काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने वा नजरबन्दमा राख्ने तयारीबारे आएका समाचारप्रति ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले आपत्ति जनाएका छन्।
शनिबार बिहान विज्ञप्ति जारी गर्दै सुवेदीले पूर्वराजालाई बदनाम गराउने र घटनासँग जोड्ने उद्देश्यले यस्तो तयारी भइरहेको उल्लेख गर्दै यदि त्यसअनुसार कदम चालिएमा देशभर आम नागरिक स्वतःस्फूर्त रूपमा विरोधमा उत्रने चेतावनी दिएका छन्।
चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौँको तीनकुनेमा आयोजित आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी र केन्द्रीय नेताहरूले सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको आरोप सुवेदीले लगाएका छन्। उनले प्रहरी हस्तक्षेपकै कारण सभा बिथोलिएको दाबी गरेका छन्।
आन्दोलनका कमान्डर दुर्गा प्रसाईँलगायतलाई पक्राउ पुर्जी जारी गरिएको तथा कार्यक्रमपछि जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा, प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गरिएको सुवेदीले विज्ञप्तिमा जनाएका छन्। उनले आफूलाई समेत घरमै नजरबन्दमा राखिएको आरोप लगाएका छन्।
