काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई नयाँ उर्जामन्त्री कुलमान घिसिङबाट राजीनामा गर्न दबाब आएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।
मन्त्री घिसिङले शाक्यले राजीनामा गर्न भनेको भन्दै हल्ला चलेको बेला शाक्यले त्यस्तो कुनै कुरा नभएको भन्दै शाक्यले आज (आइतबार) मन्त्री घिसिङसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए ।
शाक्यले भने, ‘राजीनामा दिनुपर्यो भनेर कुनै कुरा आएको छैन । बाहिर आएको हल्लामा सत्यता छैन । आज भेट गर्ने कार्यक्रम छ । हेरौं के कुरा हुन्छ ।’
डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादका विषय प्राधिकरणको सञ्चालक समितिले के कस्तो निर्णय गर्छ, सोहीअनुसार प्रक्रिया अघि बढ्ने शाक्यको भनाई छ । सञ्चालक समितिमा उर्जामन्त्री नै अध्यक्ष हुने भएकाले उपयुक्त निकास खोजिने उनको भनाई छ ।
अदालतको आदेशअनुसार उद्योगीहरु अहिले महशुल विवाद समाधानका लागि पुनरावलोकन प्रक्रियामा गएका छन् । घोषित लोडसेडिङको समयको भन्दै डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपयोग गर्ने आफूहरुलाई गैरकानुनीरुपमा प्रिमियम महशुल अशुल गर्न खोजिएको भन्दै उद्योगीहरु अदालत गएपछि अधिकांश अदालतले पुनरावलोकन प्रक्रियामार्फत आउन आदेश दिएको थियो ।
शाक्य प्रवन्ध निर्देशक भएर आएपछि पुनरावलोकन प्रक्रियाका लागि आव्हान गरेका थिए । उनले गत जेठ मसान्तसम्मको समय दिएर गरेको आव्हानअनुसार उद्योगीहरुले धरौटी बुझाएर पुनरावलोकनका लागि निवेदन दिएका छन् । प्राधिकरणले पुनरावलोकन कमिटि भने बनाइसकेको छैन ।


















