बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ को ७ नं चोक नजिकै एउटा सामुदायिक विद्यालय छ । जसको नाम हो, नवकिरण आधारभुत विद्यालय । मुख्य सडककै छेउमा छ विद्यालय । बाहिरबाट हेर्दा विद्यालयको घेराबारा(वाल) पुरानो छ । विद्यालय पनि पुरानै छ । यो विद्यालय विकासका दृष्टिकोणले हेर्दा अरु विद्यालयभन्दा पछि पर्न सक्छ ।
तर पछिल्लो समय विद्यालयमा शैक्षिक गतिविधि भने लोभलाग्दो बन्दै गएको छ । यहाँ नियमित रुपमा नयाँ तरिका र उपायबाट विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्दै पठनपाठन गराउन थालिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढ्नुका साथसाथै अन्य कार्यप्रति ध्यानमग्न बनाइन्छ ।
व्यवहारिक ज्ञान र सीप सिक्न विद्यार्थीलाई पनि भ्याइनभ्याइ छ । यहाँ अध्ययन् गर्ने विद्यार्थीहरुलाई साना कक्षा देखि सरसफाइमा रहन ब्रस गर्न, हातधुन, ठुलालाई आदार सत्कार गर्न, जुत्तामा लेस लगाउन र कक्षा ४ देखि ९ सम्मका नानी बाबुहरुलाइ लुगा धुन, घरायसीकाम साग सब्जी केलाउन, कपडामा आइरन लगाउन र कपडा पट्याउन जस्ता व्यवहारिक ज्ञान दिँइदै आइएको विद्यालयका प्रधानाध्यापक खेमराज कट्टेलले बताएका छन् ।
‘पढाईका साथै विद्यार्थीले सामान्य भएपनि दैनिक रुपमा घरायसी कुराहरु व्यवहामा उर्तान कोशिस गरेकाले खुशी लाग्छ’, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष रामप्रसाद घिमिरे भन्छन्, ‘आफ्ना सन्तानले विद्यालयमा पढाइका साथै सानै देखि व्यवहारिक ज्ञान सिक्न पाउँदा विद्यार्थीका बाआमा पनि निकै खुशी छन् । ‘



















