बडादसैं अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक विश्वास अनुसार आजको दिनमा कात्यायनी देवीको आराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रताको नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ ।
शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती पुत्रीका रूपमा जन्मिएकी कात्यायनीले महिषासुर वध गरी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठा पाएकी थिइन् । पुराण अनुसार, ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीलाई सिंहवाहिनी, चार हातका साथ स्वर्ण वर्णमा चित्रण गरिएको छ ।
दाहिने हातमा अभय र वरमुद्रा रहँदा देब्रे हातमा तरवार र कमल पुष्प सुशोभित छ । उनलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ । यस दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने प्रचलन छ । बेलको फेदमा बसेर जागरण गर्ने परम्परा रहेको छ । विश्वास गरिन्छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ ।
समकालीन सन्दर्भमा पनि उनी नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ । काठमाडौँ उपत्यकासहित देशभरका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकाली लगायतका शक्तिपीठमा आज विशेष पूजा आराधना भइरहेको छ ।
पूजा सामग्रीमा देवीको प्रतिमा वा चित्र, रातो आशन, रातो वा कमल फूल, कलश, नरिवल, पञ्चपल्लव, अक्षता, दुवो, पान–सुपारी, बेसार, फलफूल, नैवेद्य, धूप–बत्ती, चन्दन, अबिर, पञ्चामृत, घण्टी र आरतीका सामग्री तयार पारिन्छ । पूजन विधिअनुसार, ब्रह्ममुहूर्तमा उठी नित्यकर्म सकी रातो वस्त्र लगाएर पूजा कोठा सफा गरी गंगाजल छर्किन्छ ।
कात्यायनी माताको प्रतिमा स्थापना गरी दियो बालिन्छ, कलश पूजा गरिन्छ । त्यसपछि सौभाग्यसूत्र, चन्दन, सिन्दूर, दुबो, बेलपत्र, पुष्प, धूप–दीप, फलफूल, पञ्चामृत र दक्षिणा अर्पण गरिन्छ । मन्त्रजप, प्रदक्षिणा, वन्दना श्लोकपछि आरती गरी प्रसाद वितरण गर्ने परम्परा छ ।
मन्त्र
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।
या देवी सर्वभूतेषु माता कात्यायनी रुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।