- – कल्पना भट्टराई, संयोजक, चेतना साहित्य समाज, भद्रपुर–७, झापा
श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज श्रावण १३ गते परिरहेको छ। परम्पराअनुसार आजको दिन नागको पूजा–अर्चना गरी घरको मूलढोकामा नागको तस्वीर टाँसी मनाइँदैछ। धार्मिक विश्वासअनुसार यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्ठीले युक्त पञ्चमीलाई नागपूजाका लागि शुभ मानिन्छ। यही कारणले आज नागपूजाको प्रचलन वैदिककालदेखि नै चलिआएको पाइन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पहरूको राजा मानिन्छ। नागदेवता रिसाए भने वर्षा नहुने र पानीको अभाव हुने विश्वास भएकाले नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा रहिआएको हो।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएको हुनाले आजको दिनलाई नागपूजाका लागि विशेष मानिन्छ। प्रत्येक घरको जगमुनि नाग बस्ने धार्मिक विश्वास छ। ती नाग रिसाएमा घरको जग नै भत्किन्छ भन्ने विश्वासका कारण पनि यो पूजा गरिन्छ।
नागलाई भगवान् विष्णु र शिवसँग पनि जोडिएको छ। भगवान् शिवले नागको माला लगाउनुहुन्छ भने भगवान् विष्णु जलमाथि शेषनागको शैयामा फणको छातामुनि शयन गर्नुहुन्छ। त्यसैले दुवै भगवान्लाई नागसँग सम्बन्धित मानिन्छ।
प्रथम पूजाका अधिकारी भगवान् गणेशको एक हातमा नाग रहेको पाइन्छ। भगवान् विष्णुको अवतार श्रीरामका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिन्छ। यी पात्रहरूले सज्जनको रक्षाका लागि दुर्जनको नाश गर्ने कार्यमा विष्णुको अवतारलाई साथ दिएका थिए भन्ने प्रसङ्ग पुराणहरूमा उल्लेख छ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसिद्ध प्रसङ्ग पनि विभिन्न ग्रन्थहरूमा वर्णित छ। भगवान् बुद्धका मूर्तिको शिरमा मुकुटस्वरूप सर्पको आकृति पाइन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला रहेको हुन्छ। जैन तीर्थंकरहरूको शिरमा समेत सर्पाकार मुकुट देखिन्छ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ। नागपूजा हुने घरमा लक्ष्मीको बास हुने विश्वास प्रचलित छ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सन्दर्भमा विभिन्न किंवदन्तीहरू प्रचलित छन्। तीमध्ये एक प्रसिद्ध किंवदन्ती अनुसार, एक किसानले आफ्नो खेत खन्दै गर्दा नागका तीन बच्चा फेला पारेर मारिदिए। ती बच्चाकी आमाले फर्केर आएर आफ्ना सन्तान मरेका देख्दा रिसले किसान र पछि उसका श्रीमती तथा दुई छोरालाई पनि मारीदिइन्।
किसानकी छोरी घरबाहिर भएकीले बचिन्। पछि नागिनीले उनलाई पनि मार्न खोज्दा छोरीले अनेक विन्ती–विनय गरी पूजाआजा गर्ने वाचा गरिन्। त्यसपछि नागिनी प्रसन्न भई परिवारलाई पुनर्जीवन दिइन्। यही दिन श्रावण शुक्ल पञ्चमी भएकाले त्यसबेलादेखि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ।
त्यस्तै अर्को धार्मिक कथा अनुसार, गुरु गोरखनाथले नौ नागको आसनमा बसेर बाह्र वर्ष तपस्या गरेपछि वर्षा रोकिन गयो। पछि मत्स्येन्द्रनाथ आएपछि गोरखनाथ उठे, नागहरू मुक्त भए र वर्षा भयो भन्ने प्रसङ्ग पनि उल्लेख छ।
संसारकै मूल्यवान मणि नागले शिरमा धारण गरेका हुन्छन् भन्ने मान्यता छ। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई मनपर्ने भनिन्छ। गर्मीमा बिलमा बस्ने नाग वर्षातको शीतलताका कारण श्रावण शुक्ल पञ्चमीकै दिन बाहिर निस्कने विश्वास छ।
नागका बाह्र नाम भए तापनि आजको दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरिन्छ। ब्राह्मण पुरोहितद्वारा पूजाआजा गरी नागको तस्वीर घरको ढोकामा टाँस्ने परम्परा छ।
आजको दिन खेतबारीमा खनजोत नगर्ने, नाग, सर्पजस्ता घिस्रने जीवहरू मार्न नहुने मान्यता रहिआएको छ। काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायतका स्थानहरूमा विशेष पूजा गरिन्छ। गाईको दूध, अक्षता, दुबो, खीर, रोटी आदिले नागलाई प्रसाद चढाउने परम्परा छ।
वैज्ञानिक दृष्टिकोणले हेर्दा, सर्पजस्ता जीवहरूले विषालु पदार्थ सोस्ने काम गर्ने भएकाले वातावरणीय सन्तुलनमा उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यही तथ्यलाई आधार मानेर ऋषिमुनिहरूले सर्पजातिको पूजा गर्ने रीत बसाएको मानिन्छ।
हामी मौलिक धर्म, संस्कार र संस्कृतिलाई आत्मसात् गर्ने हिन्दू, बौद्ध, किरात, जैन, बोनजस्ता प्रकृतिपूजकका लागि आजको दिन विशेष महत्त्व राख्दछ।
धार्मिक होस् वा वैज्ञानिक मान्यता दुबै एक सिक्काका दुई पाटा हुन्। त्यसैले आजको दिन हाम्रो मौलिक परम्पराको गहना हो भन्ने भावनाका साथ हामीले नागपञ्चमी मनाउनुपर्छ।