शान्तिनगर। नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको शनिबार गडीगाउँ माविमा भएको साधारणसभाको अवसरमा ज्येष्ठ सहकारी सदस्यको रुपमा ठाकुर प्रसाद भट्टराई र ओमकार पराजुलीलाई जनही एक हजार र सम्मान पत्र सहित सम्मान गरिएको छ । त्यसैगरी एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई नगद २ हजार सहित सम्मान गरिएको थियो । यसरी नगदसहित सम्मानपत्रद्धारा सम्मानित हुने शेयर सदस्यका छोराछोरी तर्फ छात्रा दीक्षा ढुङ्गेल र छात्र तर्फ अर्जुन ढुङ्गेल रहेका छन् । यसैगरी संस्थाका पूर्व कर्मचारी यदुनाथ पराजुली र मनीषा भट्टराईलाई पनि सम्मान गरिएको व्यवस्थापक धर्मेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडाध्यक्ष डेगेन्द्र कार्कीले सहकारीले सबै जातजाति बर्ग र क्षेत्रलाई समेट्न सफल भएको भन्दै छरिएर रहेको पुँजीलाई वित्त बजारमा ल्याउन पनि ठुलो भूमिका खेलेको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि नेपाल सुपारी खेती विकास संस्थाका केन्द्रिय अध्यक्ष देवी प्रसाद खतिवडाले संस्थाको आर्थिक क्षेत्रफल अझ फराकिलो बनाउन संस्थाको प्रगति र उन्नतिमा सबै सदस्यहरूले चिन्तन गर्नुपर्नेमा जोड दिनुभयो । वित्तीय पहुँच कमजोर भएका वर्ग, सबै समुदाय र क्षेत्रमा पहुँच विस्तार गरी विपन्न वर्गमा उद्यमशीलता, स्वरोजगार र बचत वृद्धि गराउने उद्देश्य रहेको भन्दै अध्यक्ष खतिवडाले खुशी व्यक्त गर्नुभयो ।
संस्थाको तर्फबाट कार्यक्रमका सभापति तथा अध्यक्ष गंगाराम राईले नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ को आर्थिक बर्ष ७९/८० को आम्दानी र खर्च विवरण, भावी योजनासहितको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । लेखा समितिका संयोजक यदुनाथ पराजुलीद्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन साधारण सभाले अनुमोदन सहित पारित गरेको थियो ।
वि. स. २०६६ साल असार २१ गते सहकारी ऐन अन्तर्गत स्थापना भएको उक्त सहकारीमा १ करोड ३४ लाख ७ हजार ५ सय शेयर पूँजी रहेको छ भने ४ सय ३८ जना शेयर सदस्य रहेका छन् । संस्थाको निक्षेप संकलन १ करोड ७० लाख बढी रहेको छ । संस्थाले ३ करोड ७ लाख ९९ हजार ९ सय ९ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कूल सम्पत्ति ३ करोड ६९ लाख ५२ हजार ५९ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्ष ०७८/७९ मा २१ लाख ६६ हजार ४ सय ९३ रुपैयाँ आम्दानी गरेको सहकारीले आर्थिक वर्ष ०८०/८१ को अनुमानित वार्षिक बजेट ७ करोड ६४ लाख ९८ हजार ४४ रुपैयाँ राखेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
संस्थाको शनिबार गडीगाउँ माविमा भएको साधारणसभाको अवसरमा ज्येष्ठ सहकारी सदस्यको रुपमा ठाकुर प्रसाद भट्टराई र ओमकार पराजुलीलाई जनही एक हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ । त्यसैगरी, कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई नगद २ हजार सहित सम्मान गरिएको थियो । यसरी नगद सहित सम्मानपत्रद्धारा सम्मानित हुने शेयर सदस्यका छोराछोरी तर्फ छात्रा दीक्षा ढुङ्गेल र छात्र तर्फ अर्जुन ढुङ्गेल रहेका छन् । यसैगरी संस्थाका पूर्व कर्मचारी यदुनाथ पराजुली र मनीषा भट्टराईलाई पनि सम्मान गरिएको व्यवस्थापक धर्मेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
मूल कृषक समुहका अध्यक्ष धन बहादुर श्रेष्ठ , सल्लाहकार समिति संयोजक शिव कुमार पौड्याल, सदस्य माधव खतिवडा, सुपारी जोन झापा अध्यक्ष दीपक गौतम , जिल्ला सुपारी संघ झापा अध्यक्ष रुद्रमणि खतिवडा, चुल्ठे सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष प्रदिपदेव खतिवडा लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष पवित्रा न्यौपानेले शाब्दिक स्वागत मन्तव्य र सञ्चालन सचिव हेमराज भट्टराई र शिक्षा उपसमिति संयोजक शम्भु प्रसाद पौड्यालले गर्नु भएको थियो ।