बानियानी – झापाको कचनकवलमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बनियानी, झापाको आयोजनामा बुधबार वित्तीय साक्षरता तथा बीउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य ग्रामीण भेगका नागरिकहरूलाई वित्तीय साक्षरताबारे सचेत गराउनु तथा कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउनु रहेको थियो।
कार्यक्रममा सहभागी किसान तथा स्थानीय बासिन्दालाई वित्तीय व्यवस्थापन, बचत तथा लगानीको महत्व, ऋणको सही सदुपयोग, तथा साना व्यवसायको प्रवर्द्धनसम्बन्धी प्रशिक्षण प्रदान गरियो। उक्त प्रशिक्षण इलाका कार्यालय प्रमुख जोनु खतिवडाले दिएकी थिइन्।
सो अवसरमा ६० जना किसानहरूलाई उच्च उत्पादन दिन सक्ने विभिन्न प्रकारका बीउबिजन निःशुल्क वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नाडेप लघुवित्तका प्रतिनिधिहरूका अनुसार संस्था आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण भेगका समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन योगदान दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको अध्यक्षता शाखा प्रमुख सुरेश मरण्डी गरेका थिए। प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी खरेल रहेका थिए, उनले पनसमा बाती बालेर कार्यक्रम उद्घाटन गरेका थिए। विशिष्ट अतिथिको रूपमा वडा नम्बर ७ का वडाध्यक्ष भरत राजवंशी तथा झापाका ७ वटै शाखा कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम समापनका क्रममा सहभागीहरूले लघुवित्त संस्थाले सञ्चालन गर्ने यस्ता गतिविधिहरूले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।