पालिका सन्देश । पछिल्लो समय महिलाले सुनका गहना लगाउन धेरै कम गरिसकेका छन् । छिटो, छरितो, मितव्ययी, सर्वपहुँच र सुन्दर पनि हुने हुँदा रेडिमेड गहनाको फेसन यतिबेला खुब चलेको छ । यिनै गहनाभित्र पनि विभिन्न आइटमहरु छन् ।
घरपरिवारको रेखदेख गर्दै घरमै बसेर यस्तै गहनाका आइटम बनाउन बुद्धशान्ति २ की रीता सापकोटा खनाल लागी परेकी छिन् । उनले चुरा, पोते, कानको टप, औँठी, माला जस्ता सामानहरु उत्पादन गर्ने गरेकी छिन् ।
‘अब महिनाको १२/१५ हजारको जागिर खोज्न बाहिर जानु पर्दैन, साँझ विहान घरको काम गरेर दिउँसो घरमै बसेर ४/५ घण्टा काम गर्न सक्यो भने १२/१५ हजार सजिलै कमाउने गरेकी छु’ उनले भनिन् ।
आफू सफल उद्यमी बन्ने सपना राखेर अघि बढेकी रीताले विगत नौ महिना देखि उद्योग नै दर्ता गरेर व्यबसाय गरिरहेकी छिन् । सुरुमा सामान्य लगानीबाट सुरु गरेको पोते उद्योगलाई व्यबस्थित गर्दै लैजाने कोशिसमा लागेकी उनलाई परिवारले दह्र्रै साथ दिएको छ । उनले गहनाका लागि चाहिने सामान झापाको धुलाबारी, काठमाडौ, उर्लाबारी लगायतका ठाउँबाट ल्याउने गरेकी छिन् ।
मेहनत बढी लाग्ने यस काममा घरैका परिवारका सदस्यहरुले सवै मिलेर काम गरिरहेको बताइन् । यतिबेला रीताले आफ्नो उद्योगमा तीन जनालाई रोजगार समेत दिएकी छिन् । रिता प्रशिक्षक पनि हुन् । आँफै प्रशिक्षक भएकोले विभिन्न स्थानमा तालिम गराउँदै गरेको र त्यसबाट उत्पादित जनशक्तिलाई रोजगारीको अवसर सृजना गर्दै आफ्नो उद्योगलाइ बृहत रुपमा सञ्चालन गर्ने उनको तयारी छ ।
हाल उद्योग आफ्नै घरैमा संचालन गर्दै गरेको र उत्पादित पोतेको माग अत्याधिक बढेकाले माग अनुसार सामान पुर्याउन उनलाई भ्याइनभ्याई छ । अरु समय भन्दा तीज, दशैँ जस्ता चाडपर्व, विवाहका लगन भएका महिनाहरुमा पोतेको माग धेरै हुने भएकोले माग बमोजिम सामान दिन अलि कठिन हुने उनको भनाइ छ । राज्यले वेवास्ता गरेको भन्दै उनी भन्छिन्, ‘राज्यले हामी जस्ता घरेलु उद्यमीलाई तालिम, मेसिनरी र केही सहुलियत ऋण दिने हो भने देशको आर्थिक प्रगतिमा हामी पनि राम्रै टेवा पुर्याउने थियौँ ।’
मिति २०७९ फाल्गुन २४ बुधबार, पालिका सन्देश साप्तिाहकमा प्रकाशित