Search
Close this search box.
Search
Close this search box.

नारी दिवस विशेष: बर्को ओड्ने रहरले जगाएको उद्यमशीलता

img 20230306 wa0011

पालिका सन्देश । झण्डै २५ वर्ष अघि घरबाट भागेर दमक जाँदा देखेको राता, हरिया र निला धागाले जिन्दगीलाई यस्तो रङ्गिन बनाउलान भनेर प्यारी लिम्बुले सोचेकी पनि थिइनन् । कुरो २०६२ सालको हो । विद्यालय तहको पढाई सकेर झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ (साविक शान्तिनगर १)की प्यारी लिम्बु तान बुनेको हेर्न भनी साथीसँग दमक गइन् र चार महिना उतै बिताइन । खासमा प्यारीलाई एउटा बर्को आफैले बुनेर लगाउने रहर थियो ।

चार महिनामा प्यारी र उनकी साथीले राम्रोसँग तान बुन्न सिकिसकेका थिए । अब उनले रहरको एउटा बर्को मात्रै होइन साडी, सल र लुङ्गी बुन्न पनि सिकिसकेकी थिइन् । फर्केर घर आएर उनले आफ्ना परिवार र छर–छिमेकीलाई पनि ढाकाका कपडा बुन्न सिकाइन । आफुसँग पैसा नभएकाले प्यारी र उनकी दिदीले ५ हजार लगानी गरे । प्रत्येक कपडा बनाउँदा आएको नाफालाई उनीहरुले लगानीकै रुपमा प्रयोग गरे । झन्डै २ वर्षमा हापिन चोक वरपर धेरैका घरमा तान भित्रीसकेका थिए । उनले तान बुन्न सिकाएर कसैसँग पैसा पनि नलिएको बताईन ।

EPIC
img 20230306 wa0012

घरमा सबैजना तान चलाउन जान्ने भएपछि प्यारीलाई भने आफ्नो अपुरो पढाई पुरा गर्न मन लाग्यो । जागीर खान पाए अर्कै आनन्द आउँथ्यो कि भनेर उनी काम छोडेर काठमाडौं तर्फ लागिन । काठ्माडौंमा नै बिवाह भयो । सानो नानी लिएर २०७० सालमा उनी माइती गाउँ फर्केर आइन् । खासमा उनी काखे नानी हुर्काउन मात्रै आएकी थिइन् तर संयोगले गाउँ फर्किनु र गाउँमा लघु उद्यम विकास कार्यक्रम आउनु एकैपटक परेछ । उनको जीवनको टर्निङ पोइन्ट त्यही बन्यो ।

धागाबाट टाढा गएका प्यारीका हातहरु फेरी तानमा रमाउन थाले । तान बुनाइको दोस्रो इनिङमा उनले पहिलोपटक ५ वटा साडी तयार पारिन त्यसबाट उनलाई २५ हजार रुपैयाँ नाफा भयो । त्यसयता प्यारीले कहिलै पछाडी फर्केर हेर्न नपरेको कथा सुनाउँछिन् । आसपासका महिलाहरू यतिबेला आ–आफ्नै घरमा तान बुन्न ब्यस्त छन् । उनले एपि एस नामको घरेलु उद्योग पनि दर्ता गरेकी छिन् । उनलाई आजभोलि अमेरीका, अस्ट्रेलिया, स्विजरल्याण्डबाट पनि तानमा बुनेका कपडाको माग आउँछ । गाउँभरी आँफूसँगै काम सिकेकाहरुबाट उनी अर्डर पुरा गर्छिन् ।

नाम जस्तै सबैकी प्यारी अहिले तान बुन्ने मात्रै नभएर तालिम पनि दिन्छिन्, प्रदेश नम्बर १ का अधिकांश जिल्लामा उनी निःशुल्क काम सिकाइरहेकी छिन् । जिल्ला र पालिका स्तरबाट उनले उद्यमी महिलाको सम्मान समेत पाएकी छिन् । उनको सफलताका पछाडी उनका श्रीमानको पनि उत्तिकै साथ र सहयोग छ । उनका श्रीमान सुवासचन्द्र राई पनि सँगै बसेर तान बुन्छन, बाहिरफेर तालिम र कार्यक्रमसम्म पुर्याउन पनि सहयोग गर्छन् । श्रीमानको साथ भएकैले आफूलाई सहज भएको प्यारी सुनाउँछिन् । “मलाई तालिममा जान अनि सामान ल्याउन उहाँले नै सघाउनु हुन्छ, तानमा पनि उहाँ पर्फेक्ट हुनुहुन्छ, अलि बृहत रूपमा कारखाना चलाउने उहाँको रहर छ“ उनले भनिन् ।

श्रीमान–श्रीमती दुबैजना तान बुनेर यतिबेला घर खर्च चलाएर वार्षिक ५ लाख भन्दा बढि कमाइरहेका छन् । तर उनीहरु दुबैलाई कतैबाट अनुदान वा सहुलियत ऋण मिले आफ्नो उद्योगलाई बिस्तार गर्ने योजनामा छन् । घरेलु उद्योगबाट राम्रो कमाई हुनसक्ने सम्भावना हुँदा–हुँदै पनि राज्यले प्रोत्साहन नगर्दा सोचे जस्तो आम्दानी हुन नसकेको गुनासो उनीहरुको छ । तानमा बुिनएका कपडाको स्वदेशी र विदेशी बजारमा ठुलो माग हुँदाहुँदै तुलनात्मक रूपमा नेपाली बजारले उत्पादन गर्न सकिरहेको छैन । तर गाउँ–घर र पर–पर सम्म पुगेर धेरै दिदिबहीनीहरुलाई उद्यमी र स्वावलम्बी बनाउन सकेकोमा प्यारी लिम्बु खुशी छिन् । उनको आफ्नै हातले बुनेर बर्को ओड्ने रहरले आज धेरै महिलाको शरीर ढाकेको छ ।

मिति २०७९ फाल्गुन २४ बुधबार, पालिका सन्देश साप्तिाहकमा प्रकाशित

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *