काठमाडौं । नेपाल प्रहरीले तीन वटा तालिमप्राप्त कुकुर निःशुल्क बाँड्ने भएको छ । प्रहरीले एक सूचना निकाल्दै तालिमप्राप्त कुकुर निःशुल्क बाँड्न लागिएको बताएको छ ।
बिजुली नाम गरेको जर्मन शेफर्ड कुकुर, मोती नाम गरेको गोल्डेन रिट्रिभर र म्याक नाम गरेको जर्मन शेफर्ड कुकुर वितरण गर्न लागिएको हो । बिजुलीलाई खोजी तथा उद्धारको तालिम दिइएको छ । मोतीलाई लागुऔषध खोजी एवं पहिचानको तालिम र म्याकलाई विस्फोटक पदार्थ खोजी एवं पहिचान गर्ने तालिम दिइएको छ ।
यसअघि प्रहरीले न्यूनतम मूल्य निर्धारण गरेर इच्छुक दाता, बहालवाला एवं पूर्व प्रहरी कर्मचारी र अन्य सर्वसाधरण व्यक्तिहरूलाई वितरण व्यवस्थापन गर्न साउन २१ गते सूचना प्रकाशन गरेको थियो ।
तर उक्त सूचना अनुसार कुकुर लिन आउने कोही नभएपछि निःशुल्क वितरण गर्न लागेको हो । सूचना निकालेको मितिबाट ७ दिनभित्र कुकर लिन इच्छुकहरुले आवेदन दिनुपर्ने बताइएको छ ।प्रहरी, पूर्वप्रहरीदेखि सर्वसाधारणसम्म आवेदन दिएर कुकुर लिन सक्ने बताइएको छ ।