शिर्षक: प्रतीक्षा
खरले ढाकिएको घरभित्र
चिसो चुलो छ।
लम्पसार परेका छन्
बुबा मझेरीमा,
अस्ताउने बेलाको सूर्यजस्तै।
विकृतिको प्यालाले भरिएको समाज छ,
टेक्ने धर्ती छैन,
समाउने लठ्ठी छैन।
तर पनि,
प्रतीक्षा गर्छिन्,
सुनौलो भविष्यको।
अभावले खाडीमा धकेल्छ,
महँगीका अग्ला पहाडले किच्छन्।
मूसा पेटमा कुश्ती खेल्छन्—
भोक छ, भोजन छैन।
पैताला छन्, चप्पल छैनन्।
औँला छन्, कलम छैनन्।
शरीर छ, वस्त्र छैन।
शोषकले शोषण गरिरहन्छन्—
घडी-घडी,
वचनले रेट्छन्,
चिथोर्छन्।
अधिकार पाउँदा पनि
चुपचाप छिन्,
मौन छिन्
विवशताको भकारीभित्र,
मानौं, लाटोजस्तै।
तर पनि,
प्रतीक्षा गर्छिन्,
सुनौलो भविष्यको।
देशमा—
न्यायविहीन न्यायालय छ,
राजनीति छ,
तर राज्य चलाउने नीति छैन।
संविधान छ,
तर आवश्यक विधान छैन।
शिक्षक छन्,
तर गुणस्तरिय शिक्षा छैन।
देश
भित्रभित्रै खोक्रो हुँदै छ,
ऋणको तालमा डुब्दै छ।
सपनाहरू—
कहिले उकाली चढ्छन्,
कहिले ओराली झर्छन्।
रहरहरू—
हिउँझैँ जमेका छन्।
तर पनि,
प्रतीक्षा गर्छिन्,
सुनौलो भविष्यको।
उनका लागि
सम्भावनाहरू दौडिरहेका छन्—
कालीगण्डकी, कोशी,
तराईका फाँट-बेँसी,
सगरमाथाका शिरतिर।
उत्खनन गरेर
परिवर्तनको सुनामी ल्याउनुपर्छ।
बेला-बेला
निम्तो पठाउँछ अमेरिका, अष्ट्रेलिया।
तर,
हाम्फालेर जान्न भन्दिनन्।
रगत-पसिना चुहाउन,
किनकि
उनलाई
जुम्ला-मुस्ताङका स्याउ स्वादिला लाग्छन्।
सेता, सुरम्य हिमालबाट
छङछङ बगेका मोती स्वच्छ लाग्छन्।
लहलह झुलेका मार्सी धान,
वनपाखामा मुस्कुराइरहेका लालीगुराँस,
भ्यागुत्ताको ट्वारट्वार,
कोइलीको कुहू-कुहू आवाज,
दसैँ, तिहार, साकेला, छठ—
सबै प्रिय लाग्छन्।
हिँडेको बाटो,
जन्मिएको माटो,
झन् प्यारो लाग्छ।
त्यसैले,
देशभित्रै
प्रतीक्षा गर्छिन्,
सुनौलो भविष्यको।
नाम: निर्मला आचार्य
ठेगाना: प्रदेश नं. १, हिलिहाङ-४, पाँचथर
हाल: झापा, बुद्धशान्ति-१, बुधबारे