विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश १ को अधिवेशमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । सभापतिमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरे बिच प्रतिस्पर्धा हुदैछ ।
कांग्रेसको पहिलो प्रदेश नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनको तयारी हुँदै गर्दा प्रदेशको पदाधिकारीमा २१ जना बीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री पदका लागि २१ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदका उम्मेदवार थापा पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूह र घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा। शेखर कोइराला पक्षबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उपसभापतिमा गोविन्द ढुङ्गाना, टङ्क राई, रमेशजङ्ग रायमाझी र विश्वनाथ रिजालले प्रतिस्पर्धा गर्दै छन् ।
महामन्त्रीमा उमेश थापा, दीपेन श्रेष्ठ, पद्मसुन्दर पालुङ्वा र भूपेन्द्र राईको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा महिलातर्फ अञ्जना ताम्ली, इन्दिरा थापा, प्रमिला गच्छदार र सीता कार्कीले प्रतिस्पर्धा गर्दै छन् । खुल्लातर्फ खड्गबहादुर फागो, मानबहादुर लिम्बू, विनोदकुमार बस्नेत , वीरकाजी राई, रोहितकुमार साह, राजकुमार कार्की र सुभचन्द्र राई बीच प्रतिस्पर्धा हुनेछ । साह र कार्की झापाका हुन् ।
गौरादह नगरपालिकाका प्रमुखसमेत रहेका साह कोइरालानिकट हुन् । झापाबाट उत्तमबहादुर चौलागाईं, विमल आचार्य र हुकुमसिंह राईले सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । उनीहरू तीनैजना झापाबाट सर्वाधिक मत पाएका महाधिवेशन प्रतिनिधि हुन् ।
आचार्य मेचीनगर नगरपालिकाका प्रमुख समेत हुन् । त्यसैगरी झापाबाट सदस्यमा खड्गबहादुर धिमाल, शोभा श्रेष्ठ, भूपेन्द्रबहादुर ढुङ्गाना, फूलवती राजवंशी, रेगिना भट्टराई, ज्योति न्यौपाने, विनोद मेचे लगायत १२ जना बढीले प्रतिस्पर्धा गर्दै छन् ।