विर्तामोड । नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण आज (सोमबार) बिर्तामोडमा सम्पन्न भएको छ ।
मङ्सिर १० गते भएको निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई शपथग्रहणपछि पद हस्तान्तरण गरिएको हो ।
नवनिर्वाचित सभापति देउमान थेवेलाई काङ्ग्रेस नेता तथा पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका थिए ।
झापा काङ्ग्रेसका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा हस्तान्तरण गरी पद हस्तान्तरण गरेका थिए । सो अवसरमा पार्टीको बैठक निर्णय पुस्तिका हस्तान्तरण गरिएको छ ।
नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने बताए । उनले कसैलाई भेदभाव नगर्ने र सबैले गर्वका साथ हिँड्ने वातावरण निर्माण गर्ने बताए ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य महिन्द्राकुमारी लिम्बू, नेपाली काङ्ग्रेसका प्रदेश १ सभापतिसमेत रहेका थापा, पूर्वसांसद सिटौला, काङग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेल, काङ्ग्रेस झापाका पूर्वसभापति सुधीरकुमार शिवाकोटीलगायतले मन्तव्य राखेका थिए।