काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जान लागेका छन्। झण्डै ३० वर्षे सेवा अवधि पूरा गरेका कुँवर चैत ४ गतेदेखि औपचारिक रूपमा अवकाशमा रहनेछन्। कुँवरसँगै अन्य ९ जना उच्च प्रहरी अधिकारीहरू पनि सेवाबाट बिदा हुँदैछन्।
करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीन बन्ने जोखिममा छ, किनकि नयाँ आईजिपीको नियुक्ति अझै टुंगो लागेको छैन। गृह मन्त्रालय स्रोतका अनुसार सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले नयाँ आईजिपीको चयन गर्ने सम्भावना छ।
नयाँ आईजिपीको प्रमुख दाबेदार को को?
प्रहरीको ३१ औं प्रमुख चयन प्रक्रिया राजनीतिक दाउपेचका कारण ढिलाइ भएको छ। कुँवरकै ब्याचका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) – दीपक थापा, सुदीप गिरी, र टेकबहादुर तामाङ आईजिपीका मुख्य दावेदार हुन्। उनीहरू २०५२ साल भदौ १८ गते इन्स्पेक्टर पदमा प्रवेश गरेका थिए। हालको ३० वर्षे सेवा अवधिका आधारमा उनीहरूमध्ये एक जना करिब ६ महिनाका लागि आईजिपी बन्नेछन्।
आईजिपी कुँवरसहित पाँच एआइजी र तीन डिआइजी अनिवार्य अवकाशमा जाँदैछन्। अवकाश पाउने एआइजीहरूमा टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, र जनक भट्टराई छन्। त्यस्तै, डिआइजीहरू ध्रुवराज राउत, भोला रावल, र गणेश चन्द पनि अवकाश पाउँदै छन्।
नेपाल प्रहरीमा नेतृत्व हस्तान्तरण प्रक्रियामा सरकारको ढिलासुस्ती नयाँ होइन। विगतमा पनि सरकारले अन्तिम समयमा मात्र आईजिपी नियुक्त गर्ने गरेको थियो, जसले गर्दा प्रतिस्पर्धा अस्वस्थ बन्दै आएको छ। अहिले पनि मन्त्रिपरिषद्को बैठकसम्म प्रतीक्षा गर्नु परेपछि संगठन नेतृत्वविहीन हुने अवस्था आउनसक्ने चिन्ता छ।
आईजिपी कुँवरसहितका अवकाश हुने उच्च अधिकारीहरूको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ। तर, बिदाइ गर्ने उत्तराधिकारी को हुने भन्ने अनिश्चितता कायमै छ।