काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग हार बेहोरेकाे छ । आइतबार बङ्गलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको हो ।
भारतको जितमा प्रियङ्कादेवी नरोरेमले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलकाे ६८औँ मिनेटमा अमिशा बश्लाले दिएको पासमा प्रियङ्काले गोल गरेकी थिइन् ।
जितसँगै भारत फाइनल प्रवेश गरेको छ । भारत नाै अङ्कसहित फाइनलमा पुगेको हो । भारतले पहिलो खेलमा श्रीलङ्का र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बङ्गलादेशसँग पराजित भएको थियो ।
नेपालले भने फाइनल प्रवेशका लागि समूह चरणको अन्तिम खेल पर्खिनुपर्ने भएको छ। सो खेलमा श्रीलङ्काले बङ्गलादेशलाई हराउन सके नेपाल फाइनल पुग्नेछ । तर प्रतियोगिताकै सबैभन्दा कमजोर टिम श्रीलङ्काले बङ्गलादेशलाई हराउने सम्भावना कम छ ।
यसअघि नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले श्रीलङ्कामाथि ४-० गोलको जित निकालेको थियो । नेपालसँग सात अङ्क छ ।
फाइनल खेल डिसेम्बर २२ तारिखमा हुनेछ ।



















