
भद्रपुर । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ। चैत १६ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समिति अन्तर्गत मेची रंगशाला, भद्रपुरमा अनावरण गरिएको हो।
रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले शुभकामना व्यक्त गरे। वक्ताहरूले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा एफसी लाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न शुभकामना व्यक्त गरे।
मेची रंगशालाबाट सुरु गरिएको ट्रफी प्रदर्शन झापाको विभिन्न स्थान— कचनकवल, काँकरभिट्टा, इस्ट होराइजन स्कुल धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधारा धाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकसम्म गरिएको भद्रपुर झापा गोल्डकपका सदस्य हिमाल खरेलले जानकारी दिए।
धनगढीबाट सुरु भएको ट्रफी यात्रा बुटवल, लुम्बिनी, चितवन हुँदै झापा आइपुगेको थियो। अब पोखरा, ललितपुर हुँदै काठमाडौंमा पुगी समापन गरिनेछ।
एनएसएलको तेस्रो संस्करणमा सात टिमको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेल चैत १६ गते ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच हुनेछ भने फाइनल खेल वैशाख १३ गते काठमाडौंमा आयोजना हुनेछ।