बुद्धशान्ति। नेपाल स्काउट बुद्धशान्तिले ७४औँ राष्ट्रिय स्काउट दिवस विशेष कार्यक्रमका साथ बुद्धशान्ति–४ स्थित भाइरल शिरिषको रुख क्षेत्रमा मनाएको छ। सो अवसरमा बुद्धशान्ति गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित स्काउट दलका सदस्यहरू एकत्रित भई स्काउटिङ गतिविधिमा संलग्न भए।
नेपाल स्काउट बुद्धशान्तिका प्रमुख आयुक्त शिवप्रसाद पौड्यालका अनुसार कार्यक्रममा सहभागी स्काउटहरूले भाइरल शिरिषको क्षेत्र वरिपरि सरसफाइसमेत गरेका थिए। “स्काउटिङले युवा पुस्तामा अनुशासन, नेतृत्व, समाजसेवा र जिम्मेवारीबोध विकास गराउँछ,” उहाँले बताउनुभयो। कार्यक्रममा राष्ट्रिय विजय मावि, गडिगाउँ मावि, शान्ति आदर्श मावि, एराएभर ग्रीन, बुद्ध आदर्श मावि र त्रिभुवन माविका स्काउट दलहरूबाट आएका स्काउटहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा राष्ट्र प्रशिक्षक शिवकुमार पौड्याल, सहायक राष्ट्रिय प्रशिक्षक गङ्गाराम राई, सहायक राष्ट्रिय प्रशिक्षक खड्ग पङ्दाक, स्काउट लिडरहरू, शिक्षकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। जम्मा २३२ जना स्काउटहरूको सहभागिता रहेको जानकारी प्राप्त भएको छ।
नेपाल स्काउट एक गैरराजनीतिक, शैक्षिक र सामाजिक संस्था हो जसले बालबालिका र युवाहरूमा देशभक्तिपूर्ण सेवा भाव, आत्मनिर्भरता र नेतृत्व क्षमताको विकास गराउँदै आएको छ। सन् १९५२ (वि.सं. २००९) मा स्थापना भएदेखि नेपाल स्काउटले विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण, प्राथमिक उपचार तालिम, सामाजिक सरोकारका कार्यक्रमहरूजस्ता विविध क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।
नेपाल स्काउट बुद्धशान्तिद्वारा आयोजित यस वर्षको राष्ट्रिय दिवसले स्काउट आन्दोलनप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र युवाहरूमा सामाजिक उत्तरदायित्वबोध थप बलियो बनाएको देखिन्छ।