काठमाडौं। भारतबाट नेपाल भित्र्याउन लागिएको मसुरो र मासको दाल परीक्षणमा न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती दालहरूको आयात प्रक्रिया रोक लगाएको छ। विभागले न्यू श्री बेटल ट्रेडर्स, कन्चनपुर, भिमदत्तले भारतबाट पैठारीको लागि धनगढी भन्सार नाकामा ल्याएको २ हजार ९२० केजी मसुरोको दाल र २ हजार २५० केजी मासको दालमा रोक लगाएको हो।
विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, धनगढीले परिक्षण गर्दा मसुरोको दालमा किराले क्षति पुर्याएकाे दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकाे र मासको दालमा बाह्य रंगको उपस्थिति पाइएकाेले दुवै दाल आयात गर्न नमिल्ने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताएका छन्।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्न अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम पैठारीका लागि स्वीकृति प्राप्त गरी प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्न पाइन्छ। तर, सो बमोजिम मापदण्ड पूरा नभएकाले कारबाही गरिएको विभागले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १७:३९
प्रतिक्रिया दिनुहोस्