काठमाडौं। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको कडा विरोध गरेका छन्। दर्ता नभएको बहानामा लगाइएको यो प्रतिबन्धले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको भन्दै उनीहरूले तत्काल प्रतिबन्ध हटाउन माग गरेका छन्।
पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुका रूपमा उल्लेख गर्दै नेपालको संविधानको धारा १७, १९ र २७ ले प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको प्रत्याभूति गरेको स्मरण गराएका छन्। “यी संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ।
उनीहरूले सामाजिक सञ्जालमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति गम्भीर आपत्ति जनाएका छन्। यो निर्णयले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारबीचको सम्पर्क टुटेको, बालबालिकाको सिकाइमा दीर्घकालीन प्रभाव परेको र हजारौं व्यक्तिको रोजीरोटी खोसिएको उनीहरूको ठहर छ।
“सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय र विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी विधिसम्मत समाधान खोज्न सकिन्छ। तर, सञ्जाललाई पूर्णरूपमा बन्द गर्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ।
सरकारलाई दबाब दिन पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले भदौ २२ गते (आइतबार) दिउँसो २ बजे काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शनको आह्वान गरेका छन्। प्रेस र नागरिक स्वतन्त्रताका पक्षधर सबैलाई उक्त प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ।
उनीहरूले बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, सामाजिक सञ्जालको दीर्घकालीन र विधिसम्मत नियमनका लागि विज्ञसहितको कार्यदल गठन गर्न सरकारलाई आह्वान गरिएको छ।
“हामी प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सधैं प्रतिबद्ध रहनेछौं,” विज्ञप्तिमा भनिएको छ।
१. तारानाथ दाहाल– पूर्व अध्यक्ष
२. गोविन्द आचार्य– पूर्व अध्यक्ष
३. रमेश विष्ट– पूर्व कार्यवाहक अध्यक्ष
४. खिलबहादुर भण्डारी– पूर्व उपाध्यक्ष
५. उदय जीएम– पूर्व उपाध्यक्ष
६. रोशन पुरी– पूर्व महासचिव
७. ध्रुव लम्साल– पूर्वसचिव
८. प्रकाश थापा– पूर्व सचिव
९. पवन आचार्य– पूर्व सचिव
१०. लक्ष्मी पुन– पूर्व सचिव
११. धमेन्द्र कर्ण– पूर्व सचिव
१२. लेखनाथ न्यौपाने– पूर्व लेखा समिति संयोजक
१३. विकास कार्की– पूर्व केन्द्रीय सदस्य
१४. उज्वल आचार्य– पूर्व केन्द्रीय सदस्य
१५. ध्रुव रावल– पूर्व केन्द्रीय सदस्य
१६. भीषण राई– पूर्व केन्द्रीय सदस्य
१७. प्रकाश तिमल्सिना– पूर्व केन्द्रीय सदस्य
१८. कृति भट्टराई– पूर्व केन्द्रीय सदस्य
१९. माधव पौडेल– पूर्व केन्द्रीय सदस्य
२०. अजय फुयाँल– पूर्व केन्द्रीय सदस्य
२१. माधव दुलाल– पूर्व केन्द्रीय सदस्य
२२. दीपेन्द्र कुँवर– पूर्व केन्द्रीय सदस्य



















