बिर्तामोड — प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरेको छ। बिर्तामोडमा आयोजित विस्तारित बैठकमा चैत १०-१२ गते विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विश्वकर्मा, र शम्भु दाहाललाई रुद्राक्षको माला लगाई बधाई दिइएको हो।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले पत्रकारिताको उत्तरदायित्वबारे महत्वपूर्ण धारणा राख्नुभयो। उहाँले पत्रकारिता समाजलाई सकारात्मक दिशामा लैजाने माध्यम हुनुपर्ने भन्दै खोज पत्रकारितामार्फत आशा जगाउने सामग्री उत्पादन गर्न सुझाव दिनुभयो। “पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन,” उहाँले भन्नुभयो।
नेता ओलीले पत्रकारितामा सन्तुलन आवश्यक रहेको बताउँदै समाचारमा कुनै राजनीतिक पक्षपोषण हुनु नहुने स्पष्ट पार्नुभयो। “विचार निर्माणका लागि राजनीतिक ज्ञान अनिवार्य छ। पत्रकारले राजनीति गर्न हुँदैन भन्ने धारणा गलत हो। तर, समाचार निष्पक्ष हुनुपर्छ,” उहाँले जोड दिनुभयो।
उहाँले वर्तमान बहुदलीय व्यवस्थाप्रति वितृष्णा फैलाउने सामग्रीप्रति आपत्ति जनाउँदै पत्रकारहरूले समाजमा सकारात्मक सोच विकसित गर्न योगदान दिनुपर्ने धारणा राख्नुभयो। “नयाँ पुस्ताले राजतन्त्रबारे स्पष्ट बुझ्नुपर्छ। हामी नेताहरू मुखले जुध्छौं, तपाईंहरू कलमले जुध्नुहोस्,” उहाँले भन्नुभयो।
बैठकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको हिंसात्मक आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गरेको छ। नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले घटनाबारे छानबिन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिन दबाबमूलक आन्दोलन भइरहेको जानकारी गराउनुभयो। साथै, महासंघको सदस्यता नवीकरण २०८१ चैत मसान्तभित्र अनिवार्य रूपमा गरिसक्नुपर्ने स्मरण गराउनुभयो।
बैठकले चैत ३० गते दमकमा हुने एमालेको जागरण सभालाई प्रभावकारी बनाउन प्रचार व्यवस्थापन गर्ने निर्णय गरेको छ। सो सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला इन्चार्ज ओलीले जानकारी गराउनुभयो।
प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्य तथा चौतारीका इन्चार्ज गणेश पोखरेलले “कपी-पेस्ट पत्रकारिता” मौलाउँदै गएको उल्लेख गर्दै मौलिक ‘बाइलाइन’ समाचार उत्पादनमा जोड दिन आग्रह गर्नुभयो। “बहुदलीय व्यवस्थाभन्दा पञ्चायत नै राम्रो थियो भन्नेहरूलाई तथ्यगत रूपमा जवाफ दिनुपर्छ,” उहाँले भन्नुभयो।
बैठकमा संगठनका सचिव युवराज आचार्यले सहजीकरण गर्नुभएको थियो भने उपाध्यक्ष सुनिरा मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो।