काठमाडौं, चैत १६ – नेपाल पत्रकार महासंघले आफ्नो ७० औं स्थापना दिवस आज विरोधसभा र शोकसभाका रूपमा मनाएको छ। बदलिएको परिस्थितिका कारण महासंघले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए।
महासंघले हालैका घटनाक्रमलाई ध्यानमा राख्दै दिवसलाई पत्रकार हत्या र सञ्चारगृह तथा सञ्चारकर्मीमाथि भएका हमलाविरुद्ध शोक तथा विरोधसभाका रूपमा मनाउने निर्णय गरेको छ। राजावादी आन्दोलन हिंसात्मक बन्दा हिजो काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने केही सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको थियो।
यस घटनाको विरोधमा महासंघको केन्द्रीय समितिले काठमाडौंको माइतीघर मण्डलामा बिहान विरोधसभा आयोजना गरेको छ। कार्यक्रममा महासंघका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।
महासंघका अनुसार विभिन्न जिल्ला तथा प्रदेश समितिहरूले पनि स्थानीयस्तरमा विरोध सभा आयोजना गर्नेछन्। पत्रकार तथा सञ्चारमाध्यममाथिको ज्यादती र हमलाको विरोध गर्दै महासंघले सरकारसँग हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
नेपाल पत्रकार महासंघको इतिहास २०१२ साल चैत १६ गते नेपाल पत्रकार संघको रूपमा स्थापना भएसँगै सुरु भएको थियो। २०५३ साल जेठ २९ गते संघलाई महासंघमा रूपान्तरण गरिएको थियो। त्यसयता महासंघले हरेक वर्ष चैत १६ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।