प्रतिनिधिसभा बैठकमा विश्वास गुमाएपछि पदमुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । संसद्मा विश्वसको मत नपाएलगत्तै उनी शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्न प्रचण्ड शीतल निवास गएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । ‘प्रधानमन्त्री संसद्मा भएको गतिविधिको रिपोर्टिङ गर्न राष्ट्रपति कार्यालयमा जानुभएको छ,’ प्रतिनिधिसभा बैठकपछि सापकोटाले भने, ‘यहाँका सबै गतिविधिको रिपोर्टिङ गर्न शीतलनिवासमा जानुभएको हो । राष्ट्रपतिले संविधानअनुसार गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
शुक्रबार उपस्थित २५८ सांसदमध्ये प्रचण्डले जम्मा ६३ सांसदको मात्रै समर्थन पाएका थिए । उनको प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । प्रचण्डले विश्वासको मत नपाएसँगै अब कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने तयारीमा छन् ।
यसका लागि आजै हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गर्ने जानकारी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दिए । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् ।