काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तिजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चारवटा लाइनको व्यवस्था गरिएको छ । पहिलो लाइन गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
दोस्रो, मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तेस्रो लाइन पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
चौथो, तिलगंगा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठवटा लाइनको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिए ।
दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्रांगणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।
बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान साढे ५ बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । रासस