रोल्पा। रोल्पामा पहिरोले घर पुरिएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका– ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशरबहादुर थापाका अनुसार राति ९ बजेतिर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा आमा र नातिनी रहेको बताइएको छ। पहिरोले घरसँगै हजुरआमा र उनका ४ वर्षीया नातिनीलाई पुरेको बताइएको छ । ६५ वर्षीया हजुरआमा बसुना सुनार भने घरभित्रै मृत अवस्थामा फेला परेकी छन् भने नातिनी बेपत्ता रहेकी छन् ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति १० बजेतिर जानकारी गराएका थिए । सूचना पाउनासाथ प्रहरी निरीक्षक थापाको कमान्डमा चारजना प्रहरी घटनास्थल पुगेका थिए । वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको छ । उक्त ठाउँमा नेटवर्कसमेत नभएकाले उद्धारमा समस्या भएको प्रहरीले बताएको छ । नातिनी नभेटिएपछि घरभित्रै पहिरोले पुरेको हुन सक्ने प्रहरी अनुमान छ ।