काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको यो अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो ।
चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल र धान, कोइला, रासायनिक मल लगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहन लगायत वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात १६.७ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको यो अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड रुपैयाँको भएको थियो । यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चिया लगायत वस्तुको निर्यात घटेको छ ।