काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीले ताप्लेजुङ पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनका क्रममा गोली चलाउने आदेश दिने अधिकारीमाथि कठोर कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टीले घटनामा घाइते भएका सबै नागरिकको निःशुल्क उपचार सुनिश्चित गर्न पनि आग्रह गरेको छ। कार्यवाहक महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा गोलीकाण्डको कडा विरोध र भर्त्सना गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘केबलकार निर्माणसँग सम्बन्धित यो आन्दोलन स्थानीय जनताको आस्था, संस्कृति, परम्परा र भावनासँग प्रत्यक्ष जोडिएको हुँदा बल प्रयोग गरेर समाधान खोज्न सकिँदैन। सरकारले सीमित दलाल पुँजीपतिको पक्षमा उभिनुको साटो स्थानीय जनतासँग संवाद गरी आपसी सहमतिमा समस्या समाधान गर्नुपर्छ भन्ने विशेष आग्रह हाम्रो पार्टी गर्दछ।’
गत माघ १२ गते गृह प्रशासनद्वारा अन्धाधुन्ध गोली प्रहार हुँदा मिक्लाजुङ–५, सिक्तेम्बाका १८ वर्षीय सगुन लावती घाइते भएका थिए, जसको हाल टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षमा उपचार भइरहेको छ।