रवीन्द्र उप्रेती
बर्दिबास । लामो खडेरीपछि शुक्रवारदेखि मौसममा देखा परेको परिवर्तनले किसानलाई राहत दिएको छ । बर्दीबास लगायतका चुरे भेगमा शुक्रवार राति यो वर्षकै ठुलो पानी परेको बताइएको छ ।
खोलाहरुमा यसपाली पहिलो पटक बाढी आएको छ । सुकेका कुलोहरुमा पानी बग्न थालेका छन् । मध्य रातदेखि सुरु भएको वर्षा विहानसम्म पनि सिमसिम परिरहेको थियो ।
लामो खडेरीपछि मनसुन अनुकूल हुँदैगएको संकेत गरेपछि यहाँका कृषक उत्साहित भएका छन् । शनिवार पनि उत्तरी भेगका बर्दीबास लगायत कतिपय ठाउँमा झमझम पानी परेको छ ।
पानी परेपछि सुकेका कुलो पानीले भरेको छ । रोपेको र धाँजा फाटेका खेतलाई राहत मिलेको कृषकहरुले जनाएका छन् । बर्दीबास –५ टुटेश्वरका बालकुमार आलेले बाँझो रहेका १० कट्ठा खेतमा खेताला लगाएर रोपाइँ सुरु गर्नुभएको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले दक्षिणी भेगमा कम पानी परे पनि चुरे क्षेत्रको वर्षाले खोला र कुलो भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुरे भेगमा परेको पानीले दक्षिणी भेगमा सुकेका कुलोहरु भरिएका छन् । वर्षाले धान खेतलाई थोरै भए पनि त्राण दिएको छ ।’
कृषि विकाश निर्देशनालयका अनुसार मधेशमा धान रोपाइँ हुने कूल क्षेत्रफल तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये साउन १६ गतेसम्म जम्मा ५७ प्रतिसत अर्थात दुई लाख १३ हजार ४३८ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
निर्देशनालयका बाली संरक्षण अधिकृत सुदीप चौधरीले मौसम अनुकूल हुदै गएकाले आउँदो साता रोपाइँ प्रतिसतमा उल्लेख्य बृद्धि हुने बताउनुभयो ।