काठमाडौं। गत असोजदेखि सञ्चालनमा आएको नयाँ धरहरामा अहिलेसम्म १ लाख ३० हजारभन्दा बढी अवलोकनकर्ताले यात्रा गरिसकेका छन्।
सहरी विकास मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार धरहराबाट अहिलेसम्म २ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। सुरुमा सर्वसाधारणका लागि निःशुल्क प्रवेश खुला गरिएको भए पनि ९ मंसिरदेखि टिकट प्रणाली लागू गरिएको थियो।
हाल १० वर्षभन्दा माथिका नेपाली नागरिकका लागि धरहरा चढ्न २ सय रुपैयाँ शुल्क लाग्छ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट व्यवस्था गरिएको छ। विदेशी पर्यटकका लागि सार्क राष्ट्रका नागरिकलाई ५ सय रुपैयाँ र अन्य मुलुकका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
२०७२ सालको विनाशकारी भूकम्पले ऐतिहासिक धरहरा भत्काएपछि नयाँ संरचना पुनर्निर्माण गरिएको हो।