मेचीनगर। आसन्न फागुन २१ गते हुने चुनावका लागि दलहरू परम्परागत तामझामसहित प्रचारमा होमिए पनि मतदाताहरूले भने प्रचारको शैली परिवर्तनको अपेक्षा गरेका छन्। मेचीनगरका विभिन्न क्षेत्रका मतदाताहरूले उम्मेदवारको लामो भाषण र भीडभाडको साटो प्रविधिमैत्री संवाद र ठोस योजना खोजिरहेको पाइएको छ।
शान्तिनगर र चारआलीका मतदाताका अनुसार, उम्मेदवारभन्दा बढी अन्य नेताहरूको लामो र दिक्कलाग्दो भाषण सुन्नुपर्ने बाध्यता छ। मतदाताहरू ‘आत्मरति’ र ‘लवेजान’ भाषणको साटो सिधै उम्मेदवारका कुरा र योजना सुन्न चाहन्छन्।
हात-हातमा मोबाइल भएको अहिलेको युगमा चोकमा मान्छे भेला गरेर भाषण गर्नु प्रभावकारी नभएको काँकरभिट्टा र धुलाबारीका युवा मतदाताहरूको बुझाइ छ। उनीहरूका अनुसार, फेसबुक लाइभ वा सामाजिक सञ्जालमार्फत उम्मेदवारले आफ्ना कुरा राख्दा धेरैभन्दा धेरै मानिससम्म पुग्न सकिन्छ र उम्मेदवारको व्यक्तित्व चिन्न पनि सहज हुन्छ।

चिया बगानमा कार्यरत श्रमिकहरूका लागि दिउँसो काम छोडेर भाषण सुन्न जान सम्भव छैन। उनीहरूका लागि बेलुका फुर्सदको समयमा मोबाइलमा हेर्न मिल्ने डिजिटल सामग्री नै बढी व्यावहारिक र सहज देखिएको छ।
बाहुनडाँगीका मतदाताहरूले उम्मेदवारले विगतका कुरा दोहोर्याउनुको साटो ‘अब के गर्ने’ भन्ने स्पष्ट खाका पेश गर्नुपर्ने बताएका छन्। पुराना शैलीले भोट माग्ने तरिका अब प्रभावकारी नहुने उनीहरूको प्रतिक्रिया छ।
झापा–१ का प्रतिनिधि मतदाताहरूको प्रतिक्रियाले दलहरूले आफ्नो प्रचार शैलीलाई प्रविधिमैत्री र योजनामुखी बनाउनुपर्ने स्पष्ट संकेत गरेको छ।




















