झापा— पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ निवासी २१ वर्षीय क्षितिज राईले घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयको पहलमा प्रशासन टोली उनको निवासमा पुगेर नागरिकता हस्तान्तरण गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्वराज नेपाल, स्थानीय जनप्रतिनिधि, तथा सरोकारवालाहरूको उपस्थितिमा शुक्रबार क्षितिजलाई नागरिकता प्रदान गरिएको थियो। बाँसको मुडामा बस्दै आएका क्षितिजलाई सार्नुपर्ने अवस्था रहेको र उनका अभिभावक घरमा उपस्थित नभएका कारण पहिल्यै नागरिकता बनाउन कठिनाइ भएको थियो।
विसं २०६० मा मेचीनगर–३, दोकान डाँडामा जन्मिएका क्षितिज अपाङ्गता भएका कारण बाल्यकालदेखि नै विशेष हेरचाहमा छन्। उनका बुबा उनी अपाङ्ग भएको थाहा पाएपछि घरबाट वेपत्ता भएका थिए भने आमा वैदेशिक रोजगारीका लागि गएका बेला फर्किन सकेकी छैनन्। स्थानीय शिक्षक देबु बानियाँका अनुसार, क्षितिजको नागरिकता बनाउन विगत पाँच वर्षदेखि प्रयास जारी थियो।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले ढिलै भए पनि नागरिकता प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सक्ने बताइन्।
क्षेत्रीय प्रशासनले पूर्णअपाङ्गता भएका नागरिकहरूका लागि घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान चलाएको छ। चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्णअपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले जानकारी दिए।
यस अभियानअन्तर्गत बुद्धशान्ति गाउँपालिका–४ र ५ का तीन जनालाई पनि नागरिकता वितरण गरिएको छ। बुद्धशान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले २२ वर्षीय पूर्णअपाङ्गता भएका सौरभ चापागाईंको नागरिकता बनाउन पहल गरेका थिए।
“नागरिकता प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो,” सहायक प्रजिअ नेपालले भने, “प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा प्रक्रिया पूरा गरेर घरमै नागरिकता प्रदान गरेका हौँ।”