बिर्तामोड। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापामाथि आज साँझ झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको छ। आक्रमणबाट उहाँको देब्रे आँखा नजिकको माथिल्लो भागमा चोट लागेको छ। हाल उहाँको बिर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।
थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आक्रमणमा परेका हुन्। घटनामा संलग्न नेपाल विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी व्यक्तिको पहिचान भएपछि आक्रमण भएको बताइएको छ।
पूर्व मुख्यमन्त्री थापाले आक्रमणपछि आफ्नो ज्यानप्रति कुनै चिन्ता नरहेको बताउँदै नागरिकको सुरक्षा व्यवस्था कमजोर रहेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले घटनाले जिल्लाको शान्ति सुरक्षाको अवस्था स्पष्ट पारेको बताएका छन्।
झापा प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।