झापा, जेठ १० — राजावादी शक्ति र राप्रपालगायत दलहरू जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा आउने भएका छन्।
शाह दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको ‘मिनी दरबार’ मा दुई साता बसोबास गर्ने कार्यक्रम रहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काका अनुसार उनी भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी दमक प्रस्थान गर्नेछन्।
पूर्व राजा शाह जेठ २५ गतेसम्म झापामा रहने छन्। उनको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको विशेष टोली काठमाडौँबाट झापामा परिचालित भइसकेको छ। इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरू पनि सो मिनी दरबारमा आउने–जाने गरेका छन्।
दमकलाई आफ्नो सक्रिय राजनीतिक भेटघाटको थलो बनाउँदै आएका पूर्व राजा शाहको यो आगमनलाई राजावादी आन्दोलनको सन्दर्भमा विशेष रुपमा हेरिएको छ। स्थानीयस्तरमा पूर्व राजा समर्थकहरूको चहलपहलसमेत बढ्न थालेको छ।