बनियानी, भदौ २० । झापाको कचनकवल गाउँपालिका–६, दारेबुल्ला बस्ती र हुकाहुकी चौकमा शुक्रबार जश्ने ईद–ए–मिलादुन्नबीको पावन अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भएको यस कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक अगुवाहरू, शिक्षक, विद्यार्थी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले पैगम्बर मोहम्मदका जीवन र शिक्षाबारे प्रकाश पार्दै उहाँले मानवता, सहिष्णुता, दया, न्याय र सामाजिक सद्भावको सन्देश दिनुभएको स्मरण गरे। उहाँले गरिब, असहाय र समुदायका सबै वर्गप्रति समान व्यवहार र सहयोग गर्नुभएको प्रेरणाले आजको समाजलाई अझै मार्गदर्शन गर्ने उनीहरूको भनाइ थियो।
सहभागीहरूले पनि पैगम्बरबाट सिकिएको करुणा, इमानदारी र मानवतालाई व्यवहारिक जीवनमा उतार्नुपर्नेमा जोड दिए। कार्यक्रममा धार्मिक भजन (नात) प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरूले पनि शिक्षाप्रद प्रस्तुति दिएका थिए।
यसै अवसरमा समाजसेवी फुलेहार खातुन, जाहिद आलम, लालाबाबू मियां, नूरुल हक मियां, नेपाल विद्यार्थी संघ कचनकवलका उपसभापति पर्याज आलम, सचिव दिनेश चौधरी तथा सक्रिय सदस्य मुजाफुर हुसेन, समीम अख्तर, फिरोज खान, तिलक चौधरी, मक्की बाबू, मो. फारुक मियां, मौलाना आजाद हुसैनलगायतको टोलीले कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका खेले।
कार्यक्रमको अन्त्यमा उपस्थित पाहुनाहरू र यात्रुहरूलाई सरबत तथा पानी वितरण गरिएको थियो। यस कार्यलाई हिन्दु–मुस्लिमबीचको आपसी सद्भाव र एकताको प्रतीकका रूपमा सहभागीहरूले व्याख्या गरेका थिए।
आयोजक समितिका सदस्य तथा कचनकवल ने.बी संघका सदस्य मुजाफर हुसैनले भने, “पैगम्बर मोहम्मदबाट सिकिएको करुणा र इमानदारीलाई व्यवहारमा उतार्दा मात्र समाजमा वास्तविक शान्ति र एकता सम्भव हुन्छ।”