काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध बैंकको चर्को ब्याजदरविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ ।
मंगलवार प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्वन्धी कार्यक्रममा सहभागी हुँदा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरे । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद् भन्दै बिरोध गरे ।

त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले गरिव मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार, युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए । दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उहाँँकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाहा गर भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।