‘जनताको समस्या बुझन् तराई मधेस जागरण अभियान’
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरका मेयर बालेन शाह र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारी ठानेर आफूले आफ्नै मान्छे ठानेको बताएका छन् ।
बुधबार विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने बताए ।
पत्रकारहरुको एक प्रश्नमा प्रचण्डले भने, ‘बालेन आएपनि केही फरक पर्दैन । अरु आएपनि केही फरक पर्दैन । मैले उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल नै भनिसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’
उनले आफूहरूले संविधान बनाउने प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको पनि स्मरण गरे । तराई मधेस जागरणको क्रममा विराटनगर पुगेका उनले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ ‘सिफ्ट’ भएको बताए ।
गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको बताए । जसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उनको दावी छ । पार्टीकै अर्को निर्णयानुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको पनि उनले बताए ।
अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताए ।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए । उनले भने, ‘यो अभियानस्वरूप र सन्देश दुवै हिसाबले मौलिक हुनेछ । यसले वास्तविक राष्ट्रिय एकता कायम गर्नेछ ।’