काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी मार्गकेन्द्रित तराई-मधेस जागरण अभियान सुरु गर्दैछ । झापाको कचनकबलबाट सुरु हुने अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने भएका छन् ।
जागरण अभियानका लागि तयारी पूरा भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका अनुसार फागुन १२ गते झापाबाट सुरु हुने अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ ।
गत पुस २१ गतेदेखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकको सो निर्णय गरेको हो । बैठको निर्णयअनुसार मातहतका समितिहरुलाई परिपत्र गरिसकेको माओवादीले जवनाएको छ ।
अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाटलगायत कार्यक्रम हुने माओवादीले जनाएको छ । अभियानमा पार्टी अध्यक्ष प्रचण्डका आलाव वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूसहित सांस्कृतिक टोलीसमेत रहने बताइएको छ ।
अभियानमा प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरूको पनि सहभागी रहनेछन् । माओवादी केन्द्रले तयार पारेको अभियान तालिका अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ । यस्तै, मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कार्यक्रम हुनेछ ।
यस्तै, बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके र सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ ।